लकडाउन र निषेधाज्ञाका कारण नेपालमा करिब २ लाख साना उद्यमहरु सँधैका लागि विस्थापित

लकडाउन र निषेधाज्ञाका कारण नेपालमा करिब २ लाख साना उद्यमहरु सँधैका लागि विस्थापित

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण नेपालमा करिब २ लाख साना उद्यमहरु सँधैका लागि विस्थापित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका अनुसार लघु तथा साना उद्यममध्ये २० प्रतिशत खुल्नै नसक्ने गरी विस्थापित भएका हुन् ।

तथ्यांक विभागको राष्ट्रिय आर्थिक गणनाका अनुसार नेपालमा नौ लाख २३ हजार ३ सय ५६ उद्योग प्रतिष्ठानहरू रहेका छन्, जसमध्ये ९ लाख १९ हजार ३ सय ११ वटा घरेलु तथा साना उद्यम व्यवसायहरु रहेका छन् । उक्त घरेलु तथा साना उद्यम व्यवसायहरुमध्ये २० प्रतिशत अर्थात् १ लाख ८४ हजार व्यवसाय स्थायी रूपमा बन्द भएका आँकलन गरिएको हो ।

कोरोना महामारी नियन्त्रणमा लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाकै कारण घरेलुु, साना तथा मझौला उद्यम–व्यवसाय पलायन नै हुने अवस्थामा पुुगेका घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । त्यस्तै, महासंघका अनुसार आफ्ना पसलमा भएका सामग्री बिक्री गर्दा समेत भाडा तिर्न नपुग्ने अवस्था सिर्जना भएपछि अधिकांश व्यवसायीहरू सटर नै बन्द गरेर हिँड्न थालेका छन् । अहिलेको समयमा व्यवसायीहरूलाई हातमुख जोर्नै गाह्रो भएको पनि महासंघले जनाएको छ ।

सुरक्षाको विधि अपनाएर क्रमशः उद्योग–व्यवसाय सञ्चालन गर्नुको विकल्प नरहेको पनि महासंघले जनाएको छ । त्यस्तै, लकडाउन र निषेधाज्ञाका कारण गैरकृषि क्षेत्रको औपचारिक र अनौपचारिक क्षेत्रबाट करिब ३०–३५ लाख मजदुरले रोजगारी गुमाइसकेका तथ्यांकशास्त्रीहरुको आँकल रहेको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *