हृदयेश त्रिपाठीले बोलाए भेला

हृदयेश त्रिपाठीले बोलाए भेला

तत्कालीन एमालेबाट सूर्य चिह्न लिई निर्वाचनमा गएका हृदयेश त्रिपाठी समूहले २८ मंसिरमा काठमाडौंमा भेला गर्ने भएको छ ।

समसामायिक विषयमा छलफल गर्ने भन्दै त्रिपाठी समूहले प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक बैठक गर्न लागेको हो ।मधेसकेन्द्रित दल तराई मधेस लोकतान्त्रिक दलसँग आबद्ध भएका त्रिपाठीलगायत नेता गत वर्ष १६ असोजमा एमालेसँग दुई बँुदे सहमति गर्दै निर्वाचनमा सहभागी भएका थिए ।

एमालेले पछि पार्टी एकता गर्ने गरी त्रिपाठी समूहलाई सूर्य चिह्न दिएर निर्वाचनमा पठाएको बताएको थियो । तर, एमाले माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी गठन हुँदासम्म त्रिपाठी समूह स्वतन्त्रकै हैसियतमा छ ।

नेकपाका शीर्ष नेताहरूसँग विभिन्न चरणमा छलफल हुँदासमेत एकता टुंगो नलागेपछि त्रिपाठी समूहले भेला बोलाएको बताइएको छ । पार्टी एकता गर्ने विषयमा पदीय जिम्मेवारीसँगै केही सैद्धान्तिक विषयमा कुरा नमिल्दा एकता हुन नसकेको नेकपा एक नेताले बताए ।

छलफल गर्न भेला बोलायौँ : त्रिपाठी
निर्वाचन सकिएको एक वर्षपछि त्रिपाठी समूहले समीक्षा गर्ने भन्दै भेला बोलाएको छ । ‘हामी अहिले स्वतन्त्र सांसदका रूपमा छौँ, अनौपचारिक रूपमा छलफल गरिरहेका छौँ,’ सांसद त्रिपाठीले भने, ‘अब औपचारिक रूपमा प्रतिनिधिसभा सदस्य, प्रदेश सांसदसहित पूर्वसांसदसँग छलफल गर्दै छौँ ।’

भेलामा सरकार र समसामयिक राजनीतिलगायत विविध विषयमा छलफल हुने त्रिपाठीले बताए । ‘हामी कुनै पार्टीसँग एकता गर्न वा प्रवेश गर्न छलफल गर्दै छैनौँ,’ उनले भने, ‘आफ्नै समूहको समीक्षा गरेर आगामी दिनमा के–के गर्न सकिन्छ भन्ने विषयमा समीक्षा गर्छौं ।’

को कहाँबाट निर्वाचित भएका थिए ?
प्रतिनिधिसभामा त्रिपाठी समूहबाट दुई सांसद छन् । जसमध्ये त्रिपाठी नवलपरासी–१ र वृजेशकुमार गुप्ता कपिलवस्तु– २ बाट निर्वाचित भएका थिए । त्रिपाठी समूहबाट प्रदेश सभातर्फ तीन सांसद छन् ।

जसमध्ये धर्मबहादुरलाल श्रीवास्तव कपिलवस्तु– २ ‘ख’, दृगनारायण पाण्डेय कपिलवस्तु– २ ‘क’ र अजय शाही नवलपरासी पश्चिम– १ ‘ख’बाट निर्वाचित भएका थिए । सांसद पाण्डेय यसअघि नै नेकपा प्रवेश गरिसकेका छन् ।

यस्तो छ त्रिपाठीको विगत
त्रिपाठी वामपन्थी विचारबाट प्रभावित भई राजनीतिमा होमिएका थिए । राजनीतिमा क्रियाशील हुँदै जाँदा उनी स्व. गजेन्द्रनारायण सिंहले नेतृत्व गरेको सद्भावना पार्टीमा प्रवेश गरे ।

उनी सद्भावना पार्टीबाट २०४८, २०५१ र २०५६ सालमा लगातार प्रतिनिधिसभामा निर्वाचित भए । २०६४ को पहिलो संविधानसभामा उनी तराई–मधेस लोकतान्त्रिक पार्टीबाट निर्वाचित भए । त्रिपाठी २०५४ सालमा वनमन्त्री, दोस्रो जनआन्दोलनलगत्तै बनेको सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति र २०६९ सालमा भौतिकमन्त्री बनेका थिए ।