भक्तपुरको रानीपोखरी सेनाको घेराबन्दीमा

भक्तपुरको रानीपोखरी सेनाको घेराबन्दीमा

भक्तपुर नगरपालिका–१, सल्लाघारीमा रहेको रानीपोखरीको चर्चा हुँदैन । रानीपोखरी काठमाडौंमा छ भनेर पढे/सुनेका धेरैलाई भक्तपुरमा पनि रानीपोखरी छ भनेर जानकारीसमेत छैन ।

तर, यहाँको रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा पनि जेठो हो । भक्तपुरको रानीपोखरी सेनाको घेराबन्दीमा छ ।

०४० सालमा पोखरी र आसपासको ३२ रोपनी जग्गा नेपाली सेनाले अधिग्रहण गरेपछि पोखरीको अस्तित्व नै संकटमा परेको छ । संरक्षण नहुँदा पोखरी पानीविहीनजस्तै छ ।

पोखरीको मध्यभागमा मात्रै पानी छ । अन्य ठाउँमा झारले ढपक्कै ढाकेको छ । पोखरीमा कसैले पानी नहालेको स्थानीय बताउँछन् ।

सेनाको घेराबन्दीमा रहेको पोखरीमा वार्षिक रूपमा स्थानीयले गर्ने देवाली पूजामा बाहेक ३५ वर्षदेखि सर्वसाधारणलाई प्रवेश गर्न र अवलोकन गर्न रोक लगाइएको छ ।

अहिले भने पोखरीको संरक्षण गर्नुुपर्ने आवाज उठेपछि जनप्रतिनिधि र संस्कृतिकर्मीले पुनर्निर्माणको पहल थालेका छन् ।

कुलपूजाका लागि एक दिन मात्रै प्रवेश
अक्षय तृतीयाका दिन स्थानीयले गर्ने देवाली अर्थात् कुल पूजाका लागि मात्र सेनाले पोखरी खुला गर्ने गरेको छ । अक्षय तृतीयाका दिन स्थानीयवासी सिद्धपोखरी र रानीपोखरीमा भेला भएर देवाली मनाउँछन् । भक्तपुरका प्रजापति, जोन्छे, धौभडेल, अवाल, मानन्धरलगायत समुदायले कुल पूजा गर्छन् ।

स्थानीयको कुल देवताको पूजाआजाका लागि एक दिन मात्रै भए पनि रानीपोखरी खुला गर्न माग गरेपछि सेनाले खुला गरेको हो । सेनाले ऐतिहासिक पोखरीको अवलोकनमा रोक लगाउन नहुने संस्कृतिविद्हरूको भनाइ छ ।

‘यहाँका सांस्कृतिक सम्पदा कोही व्यक्ति वा निकायका निजी होइनन्, सबैका साझा हुन्, त्यसैले कसैले रोक लगाउनु राम्रो होइन,’ इतिहासविद् श्रेष्ठले भने । पोखरीको दक्षिण दिशाबाहेक चारैतिर देवी–देवताको आसन रहेको स्थानीयको भनाइ छ ।

काठमाडौंको रानीपोखरीभन्दा ४० वर्ष पुरानो

सल्लाघारीको सैनिक आवासीय महाविद्यालय परिसरको खेलमैदानसँगै छ, रानीपोखरी । पोखरी सरसफाइका क्रममा त्यहाँ भेटिएका अभिलेख, मूर्ति, इँटा, कलात्मक आकृति कुँदिएका ढुंगालगायत सामग्री फेला परेका छन् ।

ती अभिलेखका आधारमा पोखरी काठमाडौंको रानीपोखरीभन्दा ४० वर्ष पुरानो पुष्टि भएको इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

काठमाडौंको रानीपोखरी राजा प्रताप मल्लले नेपाल सम्वत् ७९० अर्थात् विसं. १७२७ मा बनाएका थिए । इतिहासविद् श्रेष्ठका अनुसार भक्तपुरका राजा जगज्योति मल्लले नेपाल सम्वत् ७५० अर्थात् वि.सं. १६८७ सालमै सल्लाघारीमा रानीपोखरी निर्माण गरेका थिए ।

‘पोखरीको मध्यभागमा नागको मूर्ति र ढुंगाका चार खम्बा राखेर शिवलिंग स्थापना गरिएको शिलालेख भेटिएको छ,’ उनले भने ।

रानीपोखरी निर्माणबारे दरबार क्षेत्रको राष्ट्रिय कला संग्रहालयमा समेत अभिलेख रहेको उनले बताए ।

राजा प्रताप मल्लले भक्तपुर आक्रमण गर्दा यहाँ रहेको पोखरीमा निर्माण गरिएको संरचनामा क्षति पुगेको थियो । त्यसयता पोखरीको पुनर्निर्माण र उचित संरक्षण हुन सकेको थिएन ।
पुनर्निर्माणका लागि एक करोड

ऐतिहासिक रानीपोखरी पुनर्निर्माणका लागि प्रदेश ३ सरकारले चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरेको छ । पोखरी संरक्षण र पुनर्निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको, तर काम सुरु भइनसकेको वडा नम्बर १ का अध्यक्ष श्याम खत्रीले बताए ।

‘पुनर्निर्माणका विषयमा सेनासँग छलफल चलिरहेको छ, टुंगो लागेपछि काम सुरु हुन्छ, आवश्यक बजेट नगरपालिकाले आफैँ पनि लगाउँछ,’ उनले भने ।

मौलिक शैलीमै पुनर्निर्माण हुने

सेनाको सुरक्षा घेराभित्र रहेको पोखरी पुनर्निर्माण गर्न र सर्वसाधारणका लागि खुला गर्न भक्तपुर नगरपालिकाले पहल थालेको छ । ऐतिहासिक तथा धार्मिक सांस्कृतिक महत्वको रानीपोखरीलाई प्राप्त प्रमाणका आधारमा मौलिक शैलीमा पुनर्निर्माण गर्ने तयारी रहेको भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले बताए ।

‘भक्तपुरमा पनि रानीपोखरी छ भन्ने धेरैलाई थाहा नै छैन, सेनाको घेराबाट बाहिर ल्याएर पुनर्निर्माणपछि पर्यटक र सर्वसाधारणका लागि खुला गर्ने हाम्रो पहल हो,’ उनले भने ।

नगरपालिकाले पोखरीको मल्लकालीन शैलीमै पुनर्निर्माण गर्न पुरातत्वविद, इतिहासविद् र संस्कृतिकर्मीहरूसँग निरन्तर छलफल गरिरहेको छ ।

०४० मा सैन्य तालिम केन्द्रका लागि सरकारले पोखरीआसपासका सार्वजनिक र सर्वसाधारणको जग्गासमेत अधिग्रहण गरेको थियो ।

Source : nayapatrikadaily