जाडोयाममा छालामा समस्या

जाडोयाममा छालामा समस्या

जाडोयामको सुरुवातसँगै छालामा समस्या देखापर्ने गर्छ । विशेषगरी, चिसो हावाका कारण हुने सुक्खापनले छालासम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना रहन्छ । सामान्यतया छालामा एलर्जी देखिने, चिलाउने, छाला फाट्नेजस्ता समस्या देखिन्छ ।

यस्तो समस्या भित्री शरीरमा हुने रोगको लक्षणसमेत हुन सक्छ । जाडोयाममा देखा पर्ने रोगहरूमध्ये सुक्खापन, लाइकन प्लानस, क्यान्सर, सोरियासिस, मेनामोनल क्यान्सरजस्ता जटिल हुन् ।

जाडोमा किन बढी हुन्छ छालामा समस्या ?
छालामा भाँडा धुने साबुनजस्ता कडा साबुन, माटोको प्रयोग, सिमेन्ट आदि केमिकलजन्य वस्तुको प्रयोगका कारण एलर्जी आउँछ । यो समस्या केहीमा वंशानुगत पनि हुन्छ ।

४० वर्षभन्दा माथिको उमेरमा छालामा सुक्खापन आउन सुरु गर्छ । यसले अनुहारमा चाउरी पर्ने, हातखुट्टा फाट्ने, छाला खुम्चिनेजस्ता समस्या हुन्छ ।

जाडोयाममा बढी मात्रामा छालामा असर पर्नुको मुख्य कारण भने सुक्खापन हो । यसले छाला फुस्रो हुने हुँदा पानीको मात्रा कम हुन्छ ।

फलस्वरूप छालामा बाह्य वातावरणले छिटो असर गर्दछ । छाला चिलाउन सुरु गर्छ । अनि, घाउ हुन्छ । बिस्तारै इन्फेक्सन हुने सम्भावना बढ्छ । यसरी छालाका रोग चिसो मौसममा बढ्ने गर्दछ ।

सामान्यतया चिसो मौसममा मानिस घाममा बढी समय बिताउँछन् । लामो समय घाममा बस्दा चाया, दाग, पोतो आदिको समस्या बढ्छ ।

छालामा देखिने पोतो विशेषगरी महिलामा देखा पर्छ । महिलामा हर्मोनका कारण यस्तो हुने गरे पनि घामको कारण नै मुख्य मान्न सकिन्छ ।

त्यस्तै, गर्भावस्थामा हर्मोनको परिवर्तन बढी हुने भएकाले योवेला झनै बढी यस्तो समस्या देखा पर्छ । आजकल महिलाहरूले जथाभावी कस्मेटिक प्रडक्ट प्रयोग गर्ने गर्छन् । यसले झनै पोतो बढाउँछ ।

कसरी बच्ने ?
सुक्खापनबाट बच्न मोस्चराइजिङ क्रिम, तेल तथा लोसनको प्रयोग गर्न सकिन्छ । तेल र क्रिमको प्रयोग गर्नुभन्दा पहिले पानीले हात चिसो बनाउन आवश्यक छ ।

यसो गर्दा थप प्रभावकारी हुन्छ । त्यसैगरी, लामो समयसम्म कडा खाले साबुन प्रयोग गर्नबाट सचेत हुनुपर्छ । चिसो मौसमले छालामा पानी सोस्ने भएकाले एसी र हिटरको प्रयोग कम गर्नु लाभदायी हुन्छ ।

साथै, पर्याप्त मात्रामा पानी पिउने, फलफूल र सागसब्जी बढी खाने गर्नुपर्छ । यससँगै घाममा निस्कँदा सनस्क्रिम र मोस्चराइजिङ क्रिमको प्रयोग गर्नाले छालामा आउने सम्भावित समस्याबाट बच्न सकिन्छ ।