कोराला नाकामा यामाहा मोटरसाइकल टुर

कोराला नाकामा  यामाहा मोटरसाइकल टुर

‘यामाहा एफजेड राइड विथ रोडिज’ को मोटरसाइकल टुर पाँचौँ दिन नेपाल–चीन जोड्ने कोराला नाका आइपुगेको छ । टुर उच्च हिमाली क्षेत्रको कठिन, तर रोमाञ्चकताले भरिपूर्ण यात्राको अन्तिम गन्तव्यमा आइपुगेको हो ।

टुरमा १५ जना एफजेड राइडर्स सहभागी छन् । यामाहा एफजेड मोटरसाइकल डाइभ गरेर कोराला नाका पुग्दा राइडर्स खुसी देखिएका थिए । यात्रामा दी हिमालयन रोडिजका जर्जहरू रेमोनदास श्रेष्ठ र दिया मास्केलगायतले पनि साथ दिइरहेका छन् ।

राइडर्सले यात्रा सम्पन्न हुँदा १ हजार ३ सय किलोमिटर यात्रा गर्नेछन् । यात्रामा सहभागी कलाकार दिया मास्केले यात्रा अप्ठ्यारो र कठिन भए पनि नसोचिएको रोमाञ्चक अनुभव भएको बताइन् ।

‘यात्रा अविस्मरणीय भएको छ,’ उनले भनिन्, ‘यामाहाको स्कुटर लामो समय चलाएको अनुभव थियो, अहिले लोमान्थाङदेखि कोरालासम्म मोटरसाइकल चलाउँदा गजबको अनुभव भएको छ ।

राइडर्सको समूहलाई सम्हालिरहेका (मार्सल) प्रज्वल खत्रीले तोकिएको ठाउँमा समयमा पुग्न नसकिए पनि अहिलेसम्मको टुर अवधिभर सुरक्षित यात्रा भएको बताए । ‘फाट्टफुट्ट लडे पनि अहिलेसम्म सुरक्षित टुर भइरहेको छ,’ उनले भने ।

यामाहाले सही राइडर्स छनोट गरेका कारण पनि टुर सफल भइरहेको उनको भनाइ छ । कम्पनीका असिस्टेन्ट मार्केटिङ म्यानेजर प्रशान्त राजभण्डारीले मोटरसाइकल टुरको अहिलेसम्मको यात्राबाट सन्तुष्ट रहेको बताए । मोटरसाइकल टुरका लागि कठिन मानिने यस रुटमा राइडरले कुल ९ दिन बिताउनेछन् ।